डोटी जिल्लाको परिचय
डोटी जिल्लाको परिचयः
भौगोलिक अवस्थाः
साविकमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायल रहेको यस डोटी जिल्ला हाल सुदूर पश्चिम प्रदेशमा पर्दछ । सिलगढी सदरमुकाम रहेको यस जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ तथा दक्षिणमा कैलाली जिल्लाहरू रहेका छन् । यो जिल्ला 28.52° उत्तरी अक्षांशदेखि 29.28° उत्तरी अक्षांशसम्म तथा 80.30° पूर्वी देशान्तरदेखि, 81.14° पूर्वी देशान्तरसम्म फैलिएको छ ।
यस जिल्लाको कूल क्षेत्रफल २,०२५ वर्ग कि.मि. (१,२९,१९९ हेक्टर) मध्ये ५९,१०१ हेक्टर भू-भाग वनजङ्गल, ७,१११ हेक्टर सरकारी तथा गौचरन, ३०,७११ हेक्टर नदीनाला, ७,७३८ हेक्टर संचित क्षेत्र र २४,५३८ हेक्टर सिंचित क्षेत्रले ओगटेको छ । यो जिल्लाको अधिकांश भू—भाग पहाडै पहाडले बनेको छ । यस जिल्लाको पश्चिम क्षेत्रमा रहेको भु–भाग र चुरे पूर्वततिरका भूभाग घनाजंङ्गलले ढाकेको छ । उत्तर क्षेत्रको भूमि त्यति उव्जाउ किसिमको छैन र यो क्षेत्रको धेरैजसो भूमि पातलो वनजंङ्गल तथा वुट्यानले ढाकेको छ । अधिकांश भू–भाग बढी भिरालो धरातल तथा कडा चट्टान र वालुवाले बनेकोले खेतीपातीको लागि उपयुक्त छैन । साथै यो क्षेत्र भौगोलिक दृष्टिकोणबाट पनि अति संवेदनशील मानिन्छ ।
समुद्र सतहदेखि 335 मिटर उचाईमा रहेको कानाचौर सेती नदीको किनार यस जिल्लाको सबैभन्दा होचो सतह हो भने 3,295 मिटर उचाईमा रहेको खप्तड इलाका सबैबन्दा अग्लो भाग हो । डोटी जिल्लास्थित प्रमुख राजमार्गहरुमा के.आई.सिंह मार्ग, भिमदत्त मार्ग र पहलमानसिंह स्वाँर मार्ग रहेका छन् । यहाँ सेती, ठूलीगाड, सानीगाड, कालागाडजस्ता प्रमुख नदीहरू तथा खप्तड, साकार, केदारजस्ता लेकहरू रहेका छन् । यस जिल्लामा अधिकतम तापक्रम दिपायलमा 44.30°C देखि न्यूनतम तामपक्रम 0.2°C खप्तड क्षेत्रमा हुने गर्दछ ।

चित्रः डोटी जिल्लाको नक्सा
२०७८ को जनगणना अनुसार यहाँ २,०४,८३१ मानिसहरू बसोबास गर्दछन्, जसअनुसार यहाँको जनघनत्व १०१ प्रति वर्ग किलोमिटर हुन आउँछ । औषत वार्षिक 134.7 मिलिमिटर मात्र बर्षा हुन्छ । महिला ६०.९% तथा पुरुष ८२.९% साक्षर रहेको यस जिल्लाको कुल साक्षरता ७०.७% मात्र छ । यहाँस्थित डोटी क्याम्पसमा स्नातकोत्तर सम्मको पढाई हुन्छ ।
2.2 राजनैतिक अवस्थाः
| क्र.सं. | स्थानीय तहको नाम | वडा संख्या | केन्द्र | क्षेत्रफल (वर्ग कि.मी.) | जनसंख्या 2078का अनुसार | कैफियत |
| १ | दिपायल सिलगढी नगरपालिका | 9 | सिलगढी | 162.62 | 33,968 | |
| २ | शिखर नगरपालिका | 11 | तलकोट | 285.39 | 30,399 | |
| ३ | जोरायल गाउँपालिका | 6 | सरस्वती नगर | 419.09 | 19,788 | |
| ४ | बडिकेदार गाउँपालिका | 5 | बर्छेन | 332.55 | 14,902 | |
| ५ | बोगटान फुड्सिल गाउँपालिका | 7 | चवराचौतारा | 322.00 | 15,540 | |
| ६ | के.आई.सिंह गाउँपालिका | 7 | दुर्गामाण्डौँ/वायल | 127.01 | 20,736 | |
| ७ | सायल गाउँपालिका | 6 | दुदुलेगडा | 122.72 | 20,456 | |
| ८ | आदर्श गाउँपालिका | 7 | कालिकास्थान | 128.47 | 24,495 | |
| ९ | पूर्वीचौकी गाउँपालिका | 7 | सानागाउँ | 117.66 | 21,494 |
एउटामात्र प्रतिनिधिसभा तथा दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्रहरू रहेको यस जिल्लामा निम्नानुसारका २ वटा नगरपालिकाहरू र ७ वटा गाउँपालिकाहरू रहेका छन्:
2.3 धार्मिक/सांस्कृतिक अवस्थाः
यस जिल्लामा अधिकांश जिल्लावासी हिन्दु धर्मावलम्बी छन् । यहाँको धार्मिक संरचना 2078 सालको जनगणनाअनुसार निम्नानुसारको रहेको छः
| क्र.सं. | धर्म | प्रतिशत |
| 1 | हिन्दु | 99.0% |
| 2 | बौद्ध | 0.7% |
| 3 | इसाई | 0.1% |
| 4 | क्रिश्चियत | 0.1% |
| 5 | अन्य (प्रकृति पूजक, किराँतसमेत) | 0.010% |
डोटी राज्यको पुरानो दरवार दिपायलस्थित सेती नदीको किनारमा भग्नावशेषको रुपमा रहेको छ । डोटीमा मनाईने प्रमुख चाडपर्वहरू, ऐतिहासिक महत्वका स्थलहरू तथा मुख्य जात्राहरू निम्नानुसार रहेका छन्:
| प्रमुख चाडपर्वहरू | ऐतिहासिक स्थलहरू | मुख्य जात्राहरू | |
| गौरा | शैलेश्वरी मन्दिर (सिलगढी) | सहश्रलिङ्ग (खप्तड) | केदारेश्वर मेला |
| फाग | मष्टा मन्दिर (सिलगढी) | भिमछेदनसिला (सरस्वतीनगर) | शैलेश्वरी जात्रा |
| होली | राधाकृष्ण मन्दिर (सिलगढी) | सेती कर्णाली दोभान (कानाचौर) | |
| विशु | अशुद्धाला मन्दिर (डौड) | कोटभैरव (दिपायल) | |
| मालिका मन्दिर (काडामाण्डौ) | दिल्पेश्वर मन्दिर (दिपायल) | ||
2.4 सामाजिक/आर्थिक अवस्थाः
राष्ट्रिय जनगणना, 2078 अनुसार यस डोटी जिल्लामा 32 वटा जातजाती र 36 मातृ भाषिहरूको बसोबास रहेको पाईन्छ । यस जिल्लाका प्रमुख जातजातिहरू निम्नानुसार छन्:
| क्र.सं. | जातजातिको नाम | प्रतिशत |
| क्षेत्री | 59.93% | |
| कामी | 11.67% | |
| ब्राह्मण | 6.78% | |
| दमाई | 7.07% | |
| ठकुरी | 3.50% | |
| मगर | 3.55% | |
| सार्की | 5.37% | |
| वादी | 3.35% | |
| लुहार | 1.1% | |
| नेवार | 0.29% | |
| अन्य (गुरुङ, तामाङ राई, आदि) | 5.4% |
बसाइँ सरेर कैलाली, कञ्चनपुर लगायतका तराईका जिल्लाहरूमा जाने क्रम बढ्दो रहेको हुँदा यहाँको जनसंख्या घट्दो क्रममा रहेको छ । विशेष गरी कामको सिलसिलामा छिमेकी मुलुक भारतमा गई ज्याला मजदुरी गरी आय आर्जन गर्ने गरेको पाइन्छ । धान, गहुँ, कोदो, जौ, मकै, मसुरो, भटमास, तोरी, फfपर, मास, आलु, बदाम, आदि यहाँका प्रमुख उत्पादनहरू हुन् । यहाँ उत्पादित कृषिबाली तथा फलफूलहरू छिमेकी जिल्लाहरू डडेल्धुरा, कैलालीसम्म समेत व्यापार हुने गरेको पाईन्छ । जिल्ला सदरमुकाम सिलगढी, पिपल्ला, राजपूर, दिपायल, बुडर, जोरायल यहाँका प्रमुख बजारहरू हुन् । यस जिल्लाको गरिवी 2078को जनगणनाअनुसार 42.81% रहेको छ ।
3. जिल्ला प्रशासन कार्यालय, डोटीको उद्देश्यः
जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जीउ धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य रही आएको छ । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरण (Public Service Delivery) लाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्देश्यहरू रहेका छन् ।
